कथा – अर्कैकी स्वास्नी

लेखक
कृष्णराज खनाल
म पारिलो घाममा बसेर शिरिषको फूल पढिरहेको थिएँ । मलाई पढ्न गाह्रा लागेका पुस्तकमध्ये यो एक हो। तैपनि त्यसभित्रकी पात्र सकम्बरीको चरित्र केलाउने प्रयास गरिरहेको थिएँ ।
मेरो ओझेल परेर बसेको सेलफोनमा टुक्क गरेर मेसेज आयो। हेरेँ। लक्ष्मीको रहेछ (यस्तो घमाइलो दिन छ । हिँड गोदा वरीतिर घुम्न जाउँ।
मैले तुरुन्तै जवाफ फर्काएँ– ओके ।
उताबाट ‘सियु‘ भनेर फेरि म्यासेज आयो ।
बाथरुम पसेर नुहाइधुवाइ गरेँ । सफाचट लुगा लगाएँ, कार स्टार्ट गरेँ र बाहिर निस्केँ। नयाँ बानेश्वर चोकमा पुग्नु अघि नै मैले उनको कुर्ता सुरुवाल देखिसकेको थिएँ । त्यहाँ पुगेर घच्च गाडी रोकेँ। उनी गाडीभित्र छिरिन् ।
‘कस्तो चल्दैछ जीवन ?’ मैले गाडीको गेयर दबाउँदै सोधेँ ।
‘के हुनु उस्तै हो । सधैँ त्यस्तै छ। उसको बानी सुन्ने लक्षण छैन ।’ उनले भनिन् ।
‘लोग्नेस्वास्नीको झगडा परालको आगो भन्छन’ मैले भनेँ । ‘तिमी विवाह नगरेको मान्छेलाई के थाहा ?’ उनले मलाई छड्के हानिन् । ‘खोइ अनुभव त गर्या छैन, अनुमान मात्र हो’ मैले थपेँ।
हामी गोदावरी पुगिसकेका थियौँ। मैले गाडीलाई एउटा किनारामा लगेर रोकेँ। मुर्झाएका फूल र चम्किएका शीतका थोापाहरुले हामीलाई कुरिरहेका थिए । गोदावरीको डाँडोले गोदावरीको आधाआधी भाग ढाकेको थियो । पारिलो ठाउँ खोज्दै हामी पल्लो कुनामा पुग्यौँ ।
गोदावरी हाम्रो पहिलो यात्रा थिएन। कहिले हामी दक्षिणकालीका पाखाहरुमा, कहिले वनकालीका रुखका फेदहरुमा, कहिले कीर्तिपुरका डाँडाहरुमा त कहिले नगरकोटमा पुगिसकेका थियौँ। यी सबै स्थानले हाम्रो प्रेमको स्वरुप देखिसकेका थिए । म त एक्लो थिएँ, डर थिएन विवाहित भएको कारण उनलाई कहिलेकाँही डरले सताउँथ्यो ।
‘कसैले देख्यो भने के होला?’ कहिलेकाँही सोध्थिन् ।
म छोटो जवाफ दिएर उम्कन्थेँ। ‘के भो त । अहिलेको जमानामा पे्रम गर्नेभन्दा पनि देखाउने चीजमा रुपान्तरण भएको छ त ।’
उनी हाँसिन् मात्र ।
उनको र मेरो कुनै चर्चित पुस्तकका पात्रहरुका बारेमा चर्चा हुन्थ्यो ।
‘पुरुषहरु सबै उस्तै हुन्छन् कि कसो ? मलाई त तिमीसँग हिँड्न नि डर लाग्छ’ उनी भन्थिन् ।
‘सबै पुरुष उस्तै हुँदैनन् । सबै महिला पनि उस्तै हुँदैनन् । एकको तुलना अर्कोसँग हुँदैन। सबैका आआफ्ना वैशिष्ट्य हुन्छन् । तिम्रो विचारमा राधा उपन्यासमा कृष्ण र राधामा को दोषी ?’ मैले सोधें ।
उनले कृष्णकै दोष देखाइन् ।
मैले भनेँ ‘कृष्णले त्यत्रो दरबार बनाए उनकै नाममा तर राधा गइनन्। राधा नजानु राधाको दोष हो ।’
‘कृष्णको मनमा राधा थिइन् भने उनी आफंै किन लिन गएनन् त?’ उनले भनिन्।
यो विषयमा अरु तर्क गर्न मन लागेन। मैले कुृरो अन्तै मोडेँ ।
हाम्रो पहिलो भेट पुस्तक प्रदर्शनीमा भएको थियो । म किताब छान्दै थिएँ। खास गरी उपन्यासमा मेरो रुचि थियो। अर्को लहरमा एउटी विवाहित महिला देखेँ। सुन्दर मुहार भएकी। उनीसँग बोलौँ बोलौँ लाग्यो। उनको हातमा पारिजातको शिरिषको फूल देखेँ। मैले नजिकै गएर भनेँ ‘यो राम्रो पुस्तक छ । बुझ्न अलि कठिन छ तैपनि लानुहोला ।’
उनले मलाई एकपटक हेरिन्। म पनि मुस्कुराएँ । मेरो सिफारिसले हो कि के हो ? उनले त्यो किताब काखीमा राखिन्। काखीमा च्यापिएका अरु पनि थुप्रै किताब थिए । उनी ती सबै किताब लिएर बाहिर निस्किन्। म पनि सुम्निमा र चिसो चुल्हो लगायतका केही किताब बोकेर बाहिर निस्केँ ।
हाम्रो भेट लामो समयसम्म भएन ।
किताब पढ्ने मेरो बानीले गर्दा मैले लोकसेवाको जाँच दिएँ। शाखा अधिकृतमा मेरो नाम निस्कियो। म नियुक्ति पत्र लिएर सिँहदरबार गएँ। सरकारी कर्मचारी भएकोमा मलाई गर्वको अनुभूति भइरहेको थियो। मेरो गाउँमा हल्लीखल्ली भइरहेको थियो कृष्ण त शाखा अधिकृत भयो रे । आमाबालाई बधाइ दिनेको लर्को लाग्यो। गाइँगुइँ हल्ला पनि भयो अब उस्को बिहे पनि गरिदिनुपर्छ ।
आमाले बधाई दिन फोन गर्नुभयो–बाबु, सारै खुसी लाग्यो । गाउँभरि तेरै गुनगान छ। ल बधाई छ। मेरो तपस्या पूरा भयो । तँलाई धेरै धेरै आशीर्वाद छ । सरकारको नुन खाएर त्यसैको सोझो गर्नु । अब तेरो बिहे पनि गर्नुपर्छ । एउटी राम्री बुहारी भित्र्याउन पाए मनमा शान्ति हुन्थ्यो।‘
‘हुन्छ आमा । मैले लवसव त गर्या छैन। एउटी राम्री बुहारी खोज्नुस्। विवाह गरौँला।’ मैले आमालाई भनेँ ।
म अफिसभित्र पस्नु अघि एउटा नेमप्लेट झुण्डिएको देखेँ। श्रीमती किरण भण्डारी। शाखा अधिकृत ।
ए, महिला अधिकृत हुनुुहुँदोरहेछ । मैले मनमनै भनेँ ।
भित्र पसेँ। चिनेचिनेको अनुहार कुर्सीमा बसेको देखेँ। अरु कोही पनि थिएन । मैले नमस्ते गरेँ । त्यो अनुहारले पनि मलाई चिनेझै गरेर हेर्यो। त्यो अनुहारले मलाई कुर्सीमा बस्ने अनुमति दियो।
मैले चिउँडोमा हात राखेर सोधें–तपाईंलाई मैले कही देखेको छु। पुस्तक प्रदर्शनीमा हो कि ? ‘होला शायद। म पनि किताबकी सौखिन छु । हो । मलाई अहिले एकिन भयो। त्यही हाम्रो भेट भएको हो’ किरणले भनिन् ‘हो त तपाईले सिफारिस गरेको यी यो किताब होइन ?’दराजबाट उनले किताब निकालिन । ’संयोग पनि कस्तो हगि?‘ उनले भनिन ।
मैले भने–कृष्ण र राधाको भेट मात्र संयोग होइन, सबैको सबैसँगको भेट संयोग त हो नि । एकको सम्बन्ध अर्कोसँग कुनै न कुनै हिसाबले भइरहन्छ । हाम्रो भेट पनि नियमित आकस्मिकताको भेट हो । ’
म अविवाहित। उनी कसैकी श्रीमती । हामी बस्ने टेबल सामुन्ने थियो । समय धेरै बितिसकेको थियो । मैले कहिलेकाँही त जानी जानी पनि उनलाई छुन्थेँ। उनको शरीरमा करेन्ट प्रवाह भएको जस्तो भान पर्दथ्यो । एउटा पट्ठो केटाको स्पर्शले उनलाई पनि त्यस्तै हुँदो हो शायद ।
रहँदा बस्दा हामीबीच गहिरो मित्रता हुँदै गयो। हामी अब तपाईंबाट तिमीमा झरिसकेका थियौँ। हामी साथी भयौँ। हाम्रा दिनहरु कहिले कता र कहिले कता गरेर बुर्कुसी मार्न थाले। मैलेभन्दा पनि उनले गरेको माया मलाई बढ्ता लागिरहेको थियो। मसँग कुरा गर्न थालेपछि उनले आफ्नो धोती फुस्केको पनि थाहा नपाउने हुन थालिन ्।
कहिलेकाँही उनी भन्थिन् ‘यो कानुनसानुनको पछाडि दगुर्ने होइन, तिमी र मेरो विवाह हुनुपर्छ। घरको लोग्ने समाजका लागि, नाम मात्रको जीवनसाथी, तिमी मेरो साँचो मनको साथी।’
शनिबार र बिदाका दिनमा पनि बरोबर उनका मेसेजहरु आइरहन्थे। तिनका जवाफ पनि दिइरहन्थे ँ।
’विवाह र प्रेम गजबको चीज रहेछ। हेर न चिसो चुल्होको सन्तेको पे्रम। सुम्निमाको सोमदत्तको प्रेम भन्दा अलग छैन त ? एउटी अर्केैकी स्वास्नी भइसकेकी मान्छे अरु परपुरुषकी पनि प्रेमिका हुन सक्छे त?’ उनले सोधिन ्।
‘प्रेम भन्ने कुरा जहाँबाट पनि टुसाउँछ। जोसँग पनि हुन सक्छ । यसले सीमा र अवरोधहरु भत्काउँछ। यसले समाज, परम्परा र रीतिरिवाजमाथि सिंगौरी खेल्छ। नत्र त त्यो प्रेम नै भएन नि’ मैले भनेँ।
उनी फिस्स हाँसिन्। मानौँ मेरो कुरो उनलाई ठीक लागेको छ।
एकपटक उनले आफू ज्योतिषी विद्या पनि पढेकोले हात हेर्ने चाहना राखिन ्। मैले देखाएँ । मेरो हात ओल्टाइपल्टाइ गरिन तिम्रो हात त कति राम्रो रहेछ । हात हेरिसकेपछि फेरि भनिन् ‘तिम्रो अब छिट्टै विवाह हुनेवाला छ ।’ मलाई उनीबाट फुत्कन गारो भइरहेको महसुस हुन थाल्यो । मप्रतिको उनको अनुरक्ति सन्तेले गरेको प्रेमभन्दा बढी लाग्थ्यो । एक दिन आमाले फोन गर्नुभयो–बाबु, केटी हेर्न आइज । तँलाई हुने खालकी एउटी राम्री केटी छिन । आमाको कुरालाई शिरोपर गर्दै म केटी हेर्न गाउँ गएँ । उनलाई जरुरी कामले गाउँ जान लागेको बताएँ। मसँगको बिछोडले उनी खुसी थिइनन्।
मैले केटी हेरेँ । मलाई मन पनि पर्यो र जेठको २२ गते हाम्रो विवाहको लगन तोकियो । म विवाहको कार्ड बोकेर श्रीमती किरण सामु पुगेँ । कार्ड पाइन्टको पछिल्लो गोजीमा जतनले राखेको थिएँ। मलाई एकदमै डर लागिरहेको थियो । उनलाई यो कुरा कसरी भनुँ जस्तो भइरहेको थियो। मुटु ढुकढुक गरिरहेको थियो तैपनि निकालेर दिएँ ।
उनले सोधिन् ‘यो कस्को विवाहको कार्ड हो ?’मैले फेरि डराएरै भनेँ –मेरो , किरणको अनुहार एकैचोटि कालो मेघले ढाकिएको जस्तो भयो । उनको हातबाट त्यो कार्ड भुइँमा झर्यो । ‘तिमीले मलाई एकवचन नसोधी विवाहको निर्णय कसरी गर्यौ? उनले भनिन् ‘म तिम्रो विवाह स्वीकार्न सक्दिनँ। तिम्रो यो नाटक केबल मलाई उपयोग गर्ने मात्र रहेछ ।’ मैले उनीसँग धेरै विवाद गरिनँ। बरु त्यहाँबाट हिँडे । मैले विवाह गर्नै पर्ने थियो । त्यसैले मैले निर्णय गरेको हुँ। मैले अर्काको घरबार उजाडेर उसलाई भगाएर ल्याउन सक्दैनथेँ। विवाह एक्लैले चाहेर मात्र त हुन्न नि। उसले मसँग दोस्रो बिहे गरे उसलाई त केही फरक नपर्ला तर मलाई समाजले अनेकन आरोप लगाउँथ्यो, अर्काकी स्वास्नी लिएर आयो भनेर। किनकि उ विवाहिता थिई, अर्कैकी दुलही । म अर्कैको लोग्ने हुँदै थिएँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार